काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन निर्देशन गरेको छ। धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै महानगरले आइतबारसम्म हटाउन निर्देशन दिएको हो
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आइतबारसम्म हटाउन भनेको र निर्णय अटेर गरेमा महानगरले आफैं भत्काउने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो,‘राप्रपाको कार्यालय आइतबारसम्म हटाउनुपर्ने भनेका छौं, निर्णय अटेर गरेमा महानगरपालिकाले आफैं भत्काउनेछ,’।
महानगरपालिकाले १३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो।‘अघिल्लो वर्ष हटाउने निर्णय प्रक्रियामा रहेकोले सूचना टाँसेर माइकिङ गरेका थियौं, यो पटक भने निर्णय नै भइसकेको छ,’ पाण्डेले भन्नुभयो ।
राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा नेपाललाई दिएको उल्लेख छ। राजभण्डारीले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ।