काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा शान्तिसुरक्षा एवम् समसामयिक सेवा चुस्त बनाउन निर्देशन दिनु भएको छ। मधेश प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग भेट्दै उहाँले शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको हो।
यस्तै उहाँले मिटरब्याज(अनुचित लेनदेन)पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिनसमेत निर्देशन दिनुभयो।‘मिटरब्याज(अनुचित लेनदेन) सम्बन्धी कानुन सकभर आज नै राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जाने छ।’ उहाँले भन्नुभयो।
नेपाल–भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पु¥याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाईका साथ नियन्त्रण गर्न तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारिक उद्देश्य के हो त्यसलाई दुई पाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिनुभयो।
उहाँले मलको हकमा पनि यहीँका किसानले आफ्नै प्रयोजनका लागि ल्याएको भए लचक हुन उहाँले निर्देशन दिनुभएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ ।