काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गर्नुभएको छ। आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो,‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ उहाँले प्रश्न गर्नुभयो,‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’
उहाँले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘यदि भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै कर्यापझ्याप पार्न सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ? ’
उहाँले सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताउनुभयो । आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने चेतावनी दिनुभयो ।