काठमाडौं। पछिल्लो समय आम जनजिब्रोमा झुण्डिएको विषय हो भ्रष्टाचारको अन्त्य । भ्रष्टाचार कसरी अन्त्य हुन्छ ? पछिल्ला अभ्यासहरुले यसलाई नियन्त्रण गर्न सक्यो त ? वा झन बढ्यो ? यी प्रश्नहरुलाई गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ । आजकाल हरेक राजनीतिक दलहरुले पनि आफ्नो दस्ताबेजमा भ्रष्टाचारमाथि शुन्य सहनशीलताको नीति अंगिकार गरेको देखाउने गरेका छन् ।
त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । पार्टी सञ्चालनार्थ सदस्यता उठाउनेदेखि शुरु हुने भ्रष्टाचार सांसद, मन्त्री बनाउनसम्म जेलिएको छ । नयाँ पुराना पार्टीहरुको एउटै रोग बनेको छ, नेता बन्न पैसा खर्च गर्नुपर्ने । नेपालका वामपन्थी दलहरु मिलेर बनेको समाजवादी मोर्चाले भ्रष्टाचारका विरुद्ध ऐक्यवद्धता जनाउँदै विभिन्न फोरममा बोल्ने गरेका छन् ।
आजको एक कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एक्लो बृहस्पति बनेर भ्रष्टाचार नियन्त्रण नहुने भन्दै सिंगो पार्टी नै लाग्नुपर्नेमा जोड दिनुभयो । जबसम्म पूजीवादको अन्त्य हुँदैन, तबसम्म भ्रष्टाचारको अन्त्य कल्पना मात्रै गर्न सकिने नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको भनाइ छ । भ्रष्टाचार निजी स्वामित्वसँग जोडिएकाले यसको अन्त्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले समाजलाई अगाडि बढ्न नदिने भ्रष्टाचारको अन्त्य गर्न सकिएन भने समाजवादी मोर्चाको गाडा पनि धेरै अगाडि बढ्न नसक्ने बताउनुभयो । चन्दा, असुलीलाई निरुत्साहित गर्नसके मात्रै भ्रष्टाचारमा कमि आउनसक्ने उहाँको अपेक्षा छ ।
यता, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्गीय, लैंगिक, सीमान्तकृत वर्गका जनतालाई सधैँ उपेक्षामा पारिएकोले यो पनि भ्रष्टाचारको अंगभित्र नै पर्ने दाबी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६ दशकको बलिदानले ल्याएको परिवर्तनलाई भ्रष्टाचारले संस्थागत गर्न नदिएको बताउनुभयो । समाजवादमा समेत भ्रष्टाचार मौलाउने खतरा उत्तिकै रहेको बताउँदै उहाँले सबै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।
हरेक मुलुकको समृद्धिको बाधक भ्रष्टाचार र कुशासान बन्ने गरेको छ । नेपालको हकमा पछिलो समय व्याप्त भ्रष्टाचार नै विकासको बाधक बन्ने गरेको छ । संघीयताको स्थापना पश्चात भ्रष्टाचारले थप मलजल पाएकोले यसको नियमन नीतिलाई थप कडा बनाउन आवश्यक रहेको छ ।
००००