काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताप्रति पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ।सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले संविधानमा व्यवस्था भएका कुरा जनताले प्रत्याभूति नगरिरहेका बेला कांग्रेसको धारणा आउन जरुरी रहेको बताउनु भयो।
’जनताप्रति पार्टीको धारणा के हो? त्यो आउनुपर्छ। जस्तै अहिले बाढी पहिरोका कारण जनताहरू पीडामा छन्। किसानलाई खेतमा मल उपलब्ध छैन। श्रमिकहरूको ज्याला बढ्न सकेको छैन। बैंक र सहकारी संस्थाहरूका बारेमा धेरै कुरा आइरहेका छन्। त्यो ठीक हो वा होइन? यी सबै विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले संविधानले व्यवस्था गरेको शिक्षा, स्वास्थ्यजस्ता मौलिक हकका विषयमा पार्टीले गम्भीररूपमा समीक्षा गर्नुपर्ने र धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले किसान साह्रै नै समस्यामा रहेको भन्दै पुरक बजेट ल्याएर भए पनि उनीहरूको ऋण मिनाहा गर्नुपर्ने बताउनु भयो ।
उहाँले पार्टीको प्रदेश कमिटीलाई भूमिका दिन मागसमेत गर्नुभयो । ’प्रदेश कमिटीहरूलाई उनीहरूको मूल्यांकनको आधारमार जिम्मेवारी दिइयोस्। त्यसले केन्द्रीय कमिटीलाई फाइदा नै हुन्छ,’ उहाँले भन्नुभयो ।