काठमाडौं। नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आजदेखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आज जिल्लाका ९८ वटै वडामा एकैसाथ अभियान सञ्चालन गर्न लागिएको हो।
अभियानका लागि सबै वडामा जिल्लाबाट प्रतिनिधि खटाइएको छ। अभियानका क्रममा नेपाली कांग्रेसको सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरणलगायतका जागरणका काम र पार्टीका गतिविधिमाथि छलफल तथा अन्तरक्रिया हुनेछन् ।
नयाँ सदस्यताका लागि अनलाइनबाट समेत फाराम भर्न सकिने र अहिले वितरण गरिएको साधारण सदस्यलाई भने एक वर्षपछि वडाको सिफारिसमा क्रियाशील सदस्यता दिइने छ। चौधौँ महाधिवेशनमा जिल्लामा नेपाली कांग्रेसका २८ हजार दुई सय क्रियाशील सदस्य रहेका थिए।
सबै वडाले यही साउन २० गते वडा सम्मेलन सम्पन्न गरिसकेपछि पालिका, प्रदेश र क्षेत्रको सम्मेलन गरिने उहाँले जानकारी दिनुभयो। पालिका, प्रदेश र क्षेत्रीय सम्मेलन सम्पन्न गरी आगामी भदौ २४ गते जिल्ला सम्मेलन गर्ने गरी अभियानलाई अघि बढाइएको सभापति खनालले जानकारी दिनुभयो।