काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले पार्टी सुधारको आवश्यकता रहेको भन्दै आन्तरिक मतदान प्रणालीमा संशोधन गर्नुपर्ने बताउनु भएको छ । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले पार्टीका आन्तरिक मतदान प्रणालीमा संशोधन आवश्यक रहेको बताउनु भएको हो।
उहाँले पार्टी नेतृत्व चयन गर्दा सबै सदस्यहरूलाई सहभागी गराउनुपर्ने प्रस्ताव अघि सार्नुभयो। पार्टीका सबै तहमा नेतृत्व चयन गर्दा पूर्ण प्राइमरी इलेक्सन सुनिश्चित गर्ने व्यवस्था लागू गर्नुपर्ने बताउँदै नेता पौडेलले पार्टीको नेतृत्व चयन निर्वाचन पद्धतिबाटै गरिनुपर्ने बताउनु भयो।
यस्तै, उहाँले पार्टीबाट सरकारमा नेतृत्व गर्नेहरूलाई दुईपटक मात्रै मौका दिने व्यवस्था गरिनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो,’पार्टीबाट सरकारमा नेतृत्व गर्ने प्रधानमन्त्री,मन्त्री, मुख्यमन्त्री, प्रदेश मन्त्रीले दुई पटकभन्दा बढि मौका नपाउने व्यवस्था कडाइका साथ लागू गरौं।’
नेता पौडेलले संघीय सदस्यको टिकट एकजनालाई ४ पटक मात्रै दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो। ’संघीय सदस्यको टिकट एकजनालाई ४ पटक मात्रै दिने व्यवस्था गरौं। प्रदेशमा दुईपटक कायम गरौं,’उहाँले भन्नुभयो,’समानुपातिकको व्यवस्था नहटेसम्म एकपटकभन्दा दोहोरिने समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था हटाऔं।’
उहाँले सदस्यता खोजेको व्यक्तिलाई मात्रै सदस्यता उपलब्ध गराउनुपर्ने बताउनुभयो। निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नहरेको भन्दै केही संवैधानिक प्रावधानहरूलाई संशोधन गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेमा उहाँको जोड थियो।
सांसद पौडेलले राष्ट्रियसभाको सदस्य संख्या ३५ कायम गर्न माग गर्नुभयो। समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनेगरी प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो,’यसका लागि २०१ सिटमा निर्वाचन हुने व्यवस्था गरौं। यसभित्रै समानुपातिक प्रतिनिधित्वको हुनेगरी व्यवस्था सुनिश्चित गरौं। ’