काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताउनु भएको छ ।गृहमन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना हुन नदिन योजनासमेत बनाएर अगाडी बढ्रने बताउनु भएको छ।
आज मध्याह्न विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताउनु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि यही विषयमा कुराकानी भएको उहाँले जानकारी गराउनु भएको छ ।
गृहमन्त्री श्रेष्ठले सुनकाण्डको छानबिन भइरहेको भन्दै राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गर्नुभएको छ। साथै, उहाँले भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दा खेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब नगरिने बताउनु भयो ।