काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले कर्णाली प्रदेशको दलको नेतामा प्रतिस्पर्धा गर्ने चाहना राख्दा उपगुटको शिकार हुनुपरेको बताउनुभएको छ।
केन्द्रीय समितिको बैठकमा पदाधिकारीले बनाउने गुटको कार्यकर्ता शिकार हुनुपरेको सांस्थापन पक्ष निकट शाहले बताउनुभयो ।
उपसभापति पूर्णबहादुर खड्काप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘त्यसको प्रत्यक्ष शिकार म पनि भएको छुँ । कर्णाली प्रदेशसभामा मैले संसदीय दलको नेता प्रतिस्पर्धाको आकांक्षा राखेको थिएँ । तर दिइएन किन ?’
लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा गर्छु भनेर चाहना राख्नु अपराध थियो भन्दै शाहले प्रश्न गर्नुभयो । ‘त्यही चाहना राखेको आधारमा उपगुटको शिकार हुनुपर्ने ? हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं ?,’ उहाँको प्रश्न छ, ‘मैले दलको नेता लड्छ भन्दा नेताहरुबाट मैले के–के सजाय पाउनुपर्ने हो ? कांग्रेसको जिम्मेवार नेताबाट यो कहिलेसम्म सहनुपर्ने हो ?’
उपसभापति खड्काको जोडबलमा कांग्रेस कर्णाली प्रदेश दलको नेता जीवनबहादुर शाहीलाई सर्वसम्मत बनाइएको थियो । शाहले केन्द्रीय सदस्य प्रदेश र जिल्लामा जाँदा के हैसियत हुन्छ भनेर बैठकमा सोधेका थिए ।