काठमाडौं।मुलुक आर्थिकमन्दी, नैतिकताविहीन धरातलबाट गुज्रिरहेका बेला यसको सुधारमा राजनीतिक नेतृत्व नै जवाफदेही हुनुपर्ने आवाज उठ्न थालेको छ। व्यवस्था परिवर्तनका खातिर लामो समय संघर्ष गर्दै आएका राजनीतिक दलहरुमा नैतिकताको खडेरी पर्दा देश गम्भीर संकटमा पर्ने खतरा बढ्दै गएको छ।
देशमा व्याप्त भ्रष्टाचार, घुसखोरी, अनियमितताका कारण मुलुकको गरिमामाथि त संकट परेको छ नै, सिंगो व्यवस्था माथि खतरा बढेको छ। राज्य सञ्चालनमा बसेकाहरुमा लोभ पलाउँदा मुलुकले सधैँ दुःख पाउने गर्दछ। यदि नेतृत्व इमान्दार र नैतिकवान बन्ने हो भने राष्ट्रले सही रुपमा गति लिने माओवादी नेता लेखनाथ न्यौपानेको दाबी छ। आफै खराब आचरण बोकेर हिडियो भने अरुले नपत्याउने र खाडलमा परिने उहाँको तर्क छ।
संकटको घडीमा आरोपप्रत्यारोपले मात्रै मुलुक सञ्चालन हुन नसक्ने नेकपा एमालेकी नेतृ पदमा अर्यालको भनाइ छ। बेलाबखत भएका, गरिएका कमी कमजोरीबारे छलफल गर्दै जानुपर्ने बताउँदै उहाँले गाह्रो अवस्थामा मिल्नुको विकल्प नहुनेमा जोड दिनुभयो । मुलुकको अवस्थाबारे सत्ता सञ्चालकले बढी जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।
मुलुकलाई कुशासनको दलदलबाट मुक्त गराएर सुशासनतर्फ लैजानका निम्ति सरकारले थालेको अभियान सकारात्मक रहेको माओवादी नेता एवं सांसद देवेन्द्र पौडेलको भनाइ छ। केही विषयमा कमजोरी भएता पनि भ्रष्टचारका मामलामा सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको उहाँको दाबी छ छानबिन हुँदै जाँदा जोसुकै व्यक्ति कानूनको दायरामा आउनसक्ने बताउँदै उहाँले यो यसको निरन्तरतामा जोड दिनुभयो ।
सरकारले राजनीतिक आडमा भ्रष्टाचारमा लिप्त भएका कसैलाई पनि नछोड्ने बताउँदै गर्दा छानबिन प्रक्रिया भने फितलो बन्दै गएको छ । निर्णायक भूमिकामा हुनेहरु खुलेआम हिडिरहेका छन् भने टिप्पणी उठाउने र अहराएको काम गर्नेहरु प्रहरी हिरासतमा बसेका छन् । पद र पावरको दुरुपयोग गर्दै नाम पोलिएका व्यक्तिहरु निर्धक्क हिडिरहेका बेला सरकार बेखर जस्तै बनेको छ । जसको कारण कुकुर हिर्काएर पाहुना तर्साउने खेल भइरहेको छ ।