काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चेतावनी दिनुभएको छ। जारी केन्द्रिय समिति बैठकमा खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिनुभएको हो।
सभापति देउवाबाट केन्द्रिय समितिमा मनोनीत हुनुभएकी खतिवडा पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी हुनु भएको थियो। पहिलो बैठकमै खतिवडाले महामन्त्रीलाई दायरा फराकिलो बनाउन सुझाव दिसमेत दिनुभयो।
“महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला,”खतिवडाले भन्नुभयो,“सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस्।” उहाँले महामन्त्रीले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि विकल्प खोज्ने चेतावनी दिनुभयो।
सभापति देउवाले सुनसरीमा क्षेत्रीय सभापतिमा चुनाव लडेर हारेकी खतिवडालाई वैकल्पिक बाटोबाट महाधिवेशन प्रतिनिधि बनाउँदै केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो।