काठमाडौं। नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिननहुने धारणा राख्नुभएको छ। आज बुधबार पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै उहाँले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिननहुने धारणा राख्नुभएको हो ।
उहाँले यस विषयमा पुनःविचार गर्नुपर्ने बताउँदै प्रदेश समितिलाई पनि जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गर्नुभयो। लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताउनुभयो। बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताउनुभयो। उहाँले सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले नेपाली कांग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।