Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढिकरणका प्रस्ताव पेश, विभाग गठन र बैठकको मितिमा सबैको ध्यानाकर्षण(खासखबर)

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढिकरणका प्रस्ताव पेश, विभाग गठन र बैठकको मितिमा सबैको ध्यानाकर्षण(खासखबर)

  • मंगलवार, श्रावण २ २०८०

  • 374
    SHARES

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढिकरणका प्रस्ताव पेश, विभाग गठन र बैठकको मितिमा सबैको ध्यानाकर्षण(खासखबर)

    काठमाडौं। करिब १ वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक इतिहासमा पहिलो पटक लाइभ गरिएको छ। आजबाट शुरु भएको बैठकका विषयमा मिश्रित धारणा आएपनि लाइभ गर्नुको औचित्यमाथि धेरैले प्रश्न गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रत्यक्ष प्रसारण गरिएको बैठकमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राखिरहेका छन् ।

    सभापति देउवाले लामो समयपछि बैठक आह्वान हुँदा आफूमाथि धेरै नैतिक प्रश्नको वर्षा हुने देखिएपछि केन्द्रीय सदस्यहरुको बोलीमा आंशिक लगाम लगाउन यो प्रणाली शुरु गरेको पनि चर्चा भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गर्नुभएको छ।

    यसअघि विभागको संख्या ४८ भएपनि विधानमा भने अहिलेसम्म एउटा सूचना सञ्चार विभागमात्र गठन भएको छ। विधानअनुसार ६ महिनामा गठन गरिसक्नुपर्ने भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको डेढ वर्षसम्म पनि विभाग गठनमा चासो दिनुभएको छैन। महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागलाई पूर्णता दिन प्रस्ताव गर्नुभएको हो।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीलाई चलायमान बनाउनका निम्ति विगतका गल्तीहरुबाट पाठ सिक्दै नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । संसदीय दललाई प्रभावकारी बनाउनका निम्ति अभ्यास थाल्नुपर्ने बताउँदै उहाँले संसदमा आफ्नो तर्फबाट बहुमत उपस्थिति हुनुपर्ने सुझाउनुभयो ।

    कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको निर्देशन र आम जनताको भावनालाई एकीकृत बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । बजेट निर्माणको क्रममा भएका केही त्रुटिमाथि केन्द्रीय समितिले सुझाव दिने उहाँको अपेक्षा छ । अर्थतन्त्र ओेरालो लागिरहेका बेला आएको बजेटले सबैका भावनालाई समेटेको नहुन सक्ने तर्फ इंगित गर्दै उहाँले बजेट कार्यान्वयनमा सबैको भूमिका आवश्यक रहेको औँलयाउनुभयो ।

    कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ। पछिल्लो समय पार्टी सांगठानिक रुपमा अप्ठ्यारोमा परिरहेका बेला आयोजित केन्द्रीय समिति बैठक कांग्रेसलाई बलियो बनाएर लैजाने अपेक्षा लिइएको छ। पार्टी संगठनको इतिहास र क्षमताका आधारमा सबैलाई समान रुपमा अगाडि बढाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको तर्क छ।


    मंगलवार, श्रावण २ २०८००७:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij