काठमाडौं । जनमतले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले पार्टी कार्यालय निर्माणका लागि अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको हो ।
अक्षयकोषमा रकम संकलन गर्न दाताहरूलाई आह्वान गर्ने निर्णय भएको पार्टीका महासचिव चन्दन सिंहले बताउनुभयो । अहिले पार्टी कार्यालय बुद्धनगरमा भाडाको घरमा रहेको छ । अब आफ्नै संरचना बनाउन पार्टी तयार भएको बताइएको छ ।
यस्तै बैठकले पार्टीका विभिन्न तहको बैठकको समय निर्धारित गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरूको प्रशिक्षण साउन ८ देखि ९ गतेसम्म धुलिखेलमा राखिएको छ भने साउन ५ गते जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला इन्चार्जहरूको बैठक काठमाडौंमा बोलाइएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक बर्दिबासमा राखेको छ भने राष्ट्रिय परिषद्को बैठक साउन १७ गते काठमाडौँमा राखेको छ । त्यस्तै साउन १९ गते स्थानीय जनप्रतिनिधिको बैठक काठमाडौँमा राखिएको महासचिव सिंहले जानकारी दिनुभयो ।
जनप्रतिनिधि बारेमा जनमत संग्रह गराउने कार्यक्रमलाई पनि बैठकले सारेको छ । यसअघि साउन ६ गतेका लागि तोकिएको थियो । त्यसलाई साउन २७ र भदौ २ गतेका लागि निर्धारण गरिएको छ । केन्द्रीय सचिवालय र जिल्ला कार्यकारिणी पदाधिकारीको बैठक हरेक आइतबार गर्ने निर्णय पनि गरेको छ ।