काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा आजबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकलाई सम्बोधन गर्दै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताउनु भएको हो।
उहाँले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको जिकिर गर्नुभयो।अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो।
सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक,अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक जस्ता संस्थाहरूको सहभागिता रहेको छ।
बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ।
सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलिसम्म चल्ने छ।