काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताउनुभएको छ ।
यो विवादित भएको भन्दै नेता सिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने राजनीतिक संरक्षणमा हुने साँठगाँठको अन्त्य हुने भन्दै यसको भण्डाफोर गर्न आह्वान गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार(आज) बिहान स्ट्याटस लेख्दै उहाँले पूर्व घुस्याहा कर्मचारीहरू अख्तियारमा पुग्दा आफ्ना पुराना फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन लागिपरेको भन्दै अगाडि लेख्नुभएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्व कर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिएको छ । राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरू त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले देखाएको छ।’
उहाँले यसलाई थप पुष्टि हुने गरी दृष्टान्त केलाउँदै अगाडि भन्नुभएको छ, ‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पत्ति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेकोसमेत उनीहरूको विवादास्पद गतिविधिले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरू पनि जेल जाने अवस्था किन आउँथ्यो ?’
नेता सिवाकोटीले ‘विभिन्न प्रभावमा परेर प्रभावशालीहरूलाई उन्मुक्ति दिन नलागेकै हुन्थ्यो भने अख्तियारले उन्मुक्ति दिएका पूर्व तथा बहालवाला कर्मचारी यतिखेर सीआईबीको खोरमासमेत जाकिँदैनथे’ भन्नुभएको छ ।
उहाँले अन्त्यमा ‘स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौँ’ भन्दै ‘आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता साँठगाँठको भण्डाफोर गरौँ’ भन्नुभएको छ ।
उहाँले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सहकार्य गर्न पनि आह्वान गर्नुभएको छ ।