काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले संसद अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति लामिछानेले मिटरब्याज पीडितहरुको पक्षमा विधेयक नल्याए संसद नै अबरुद्ध पार्ने चेतावनी दिनुभएको हो।
आजको बैठकमा सो विधेयकमाथिको छलफल कार्यसूचीबाट हटेपछि उहाँले आपत्ति जनाउँदै बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गर्नुभयो ।
अर्को बैठकमा विधेयक नल्याए राष्ट्रिय स्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिँदै उहाँले भन्नुभयो,‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ, र सरकारलाई यो विधेयक यथाशीघ्र संसदमा ल्याउनका निमित्त आह्वान गर्न चाहन्छ । हामी मिटरब्याज पीडितको पक्षमा छौँ । मिटरब्याज पीडितका कारण जसरी नागरिक जिवन मरणको अवस्थामा पुगेका छन्, उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ । फाष्ट ट्रयाकमा ल्याएर पारित गर्ने तयार गरिएकोमा कसको स्वार्थले, कसका कारणले मिटरब्याज पीडितको पक्षमा रहेको यो विधेयक संसदमा ल्याइएन ? यो संसदलाई जानकारी हुनुपर्छ ।’
उहाँले अर्को बैठकमा सो सम्बन्धी विधेयक कार्यसूचीमा राखिएन भने सदन चल्न नदिने पक्षमा रहने चेतावनी पटकपटक दोहोराउँदै यो विषयमा गम्भिरर हुन सचेत गराउनुभयो ।