काठमाडौं। करिब १ वर्षपछि बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनपछि सरेको छ। पार्टीभित्रका मतभिन्नतालाई सम्बोधन गरी पार्टीलाई एकीकृत बनाउन केन्द्रीय समिति बैठक बोलाइएको थियो। शीर्ष नेतृत्वलाई दबाब दिएर आह्वान गरिएको बैठक अब आगामी साउन २ गते बस्नेछ।
केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नेदेखि भातृसंगठनको पूर्णता लगायतका विषयहरु समेटिएका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका खाँणलाई पार्टीको जिम्मेवारीबाट नहटाइएको भन्दै कांग्रेसभित्र निकै आलोचना भइरहेको छ।यसले सिंगो पार्टीलाई समेत असर गरेको छ।
भ्रष्टाचारविरुद्ध सशक्त रुपमा अघि बढ्ने प्रण लिएको कांग्रेसले सोही आरोप लागेका व्यक्तिलाई संरक्षण गरिरहेको भन्दै आलोचना खेप्नुपरेको छ। कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति सबैको साझा भएकोले नीति र नेतृत्वमा आएको विचलनप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो। पछिल्लो समय कांग्रेसका सांगठनिक क्रियाकलाप कमजोर बन्दै गएका छन्।
भातृसंगठनहरुले अझैपनि पूर्णता पाउन सकिरहेका छैनन्। संस्थापन र इत्तर पक्षबीचको टकराव बढ्दै गएका बेला बोलाइएको केन्द्रीय समिति बैठकले बुटीको काम गर्ने धेरैको अपेक्षा छ।पार्टीभित्रका कतिपय विषयहरुलाई जिम्मेवार नेताबाटै विषयान्तर गरिएकोले नेता,कार्यकर्ताहरुमा निराशा छाएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो। लोकतान्त्रिक पद्धतीमा प्रतिस्पर्धालाई अवलम्बन गर्नसक्नुपर्ने उहाँको धारणा छ।
पार्टीका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जनतासँग मिलेर नगए र समय सापेक्ष रुपमा आफूलाई ढाल्न नसके कांग्रेसको अस्तित्व खतरामा रहेको स्वीकार्नुभयो। अहिलेको आवश्यकता मुलुक विकासको आधार तय गर्ने र समृद्धिको यात्रालाई कार्यान्वयन गर्नुपर्ने रहेकोले गठबन्धनका कारण पार्टीनै खराब दिशामा गयो भन्न नहुने काफ्लेको जिकिर छ।
मुलुकको पहिलो शक्ति कांग्रेसका पछिल्ला क्रियाकलापले आफैलाई क्षयीकरण गरेर लैजाने खतरा बढेको छ। सानेपामा नेता भेट्न गाह्रो छ भने निजी निवासहरु पार्टी कार्यालय बनेका छन्। कार्यालयमा बैठक हुँदा छिटपुट मात्रामा देखिने नेताहरुले आफू नजिकका व्यक्तिहरुलाई घरमै बोलाएर प्रशिक्षित पार्ने गरेका छन्। यो सिलसिला चल्दै गए कांग्रेसको भविष्य अन्यौल देखिन्छ।