काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद् राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको छ। आज जारी प्रतिनिधि सभाको बैठकमा सांसद् लिङ्देन प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको हो।
लिङ्देनले भन्नुभयो,‘प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ।राजीनामा दिने नदिने हाम्रो दवावको विषय होइन। तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले पनि सानो बोली चिप्लिँदा राजीनामा दिएका थिए। प्रधानमन्त्री र उहाँका प्रेस सल्लाहकारबाट आएको अभिव्यक्ति आपत्तिजनक छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथिको प्रतिवाद गर्दा मिटर ब्याज पीडितको विधेयक रोक्न खोजे भनेर आरोप लगाइयो।’
लिङ्देनले थप्नुभयो,‘जनताको नयाँ भावनाको प्रतिनिधित्व गर्ने थुप्रै दलहरू छन्। घरी घरी तीन नेता बसेर निर्णय गर्न पाइँदैन। हामीले राष्ट्रियताको विषयमा प्रश्न उठाउँदा सरकारले हामीमाथि अभियोग लगायो। समितिहरू नेतृत्वविहीन भएको हाम्रो कारणले हो।’