काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था (हविगत) पनि छिटै पुराना राजनीतिक पार्टीहरुको जस्तै हुने दावी गर्नुभएको छ। पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि छिट्टै बेहाल अवस्था रहेको बताउनुभयो।महासचिव भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढ्न सक्ने अवस्था नरहेको तर्कसमेत गर्नुभयो।
उहाँले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पूँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढनुपर्ने जिकीर गर्नुभयो। महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस,पैरवी गर्न आग्रह गर्नुभयो।
उहाँले आफ्नो पार्टी मात्रै दलाल, पूँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दावीसमेत गर्नुभयो। महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरु तय गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
उहाँले पार्टी निकट कानुन व्यवसायीहरुलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराउनुभयो।