काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताउनुभएको छ । शनिबार(आज) काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताउनुभयो।
नेपालमा भावी प्रधानमन्त्रीबारे पहिल्यै थाहा हुने गरेको भन्दै अब पूर्व प्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने उहाँले बताउनुभयो । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उहाँको भनाइ छ ।
संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा लागिपर्ने उहाँले बताउनुभयो । ‘नेपालमा प्रधानमन्त्री भूतपूर्व क्लबकै हुनेजस्तो भयो । अब यो कुरा बदल्न जरुरी छ । एमाले(माओवादीले कसरी बदल्छन् त्यो उहाँहरूको कुरा हो,’ उहाँले भन्नुभयो, ‘हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । म थाकेको र हारेको छैन । फेरि कांग्रेस संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु । सके बदलेर आफू बन्छु, नसके अर्कोलाई बनाउँछु। त्यो बदलिनपर्छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुरा छ ।’
महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभई २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।