काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण ’पोलिटिकल स्टन्ट’ मात्रै भएको टिप्पणी गर्नुभएको छ। स्ववियू काउन्सिल नेपालको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको कीर्तिपुरमा उद्घाटन गर्दै अध्यक्ष ओलीले ललिता निवास छानविन प्रकरण नाटक मात्रै भएको खिल्ली उडाउनुभएको हो ।
ओलीले भन्नुभयो, ‘यो भ्रष्टाचार विरोधी देखिने पोलिटिकल स्टन्ट मात्रै हो। गठबन्धनकै नेता पर्ने हुन् यसमा पनि। एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छ। देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको छ।’ ओलीले यो दुई वर्षमा भ्रष्टाचार मात्रै बढेको आरोप लगाँउदै यो प्रकरणमा पनि छानबिन गर्दा गठबन्धनकै नेताहरु पर्ने बताउनुभयो।
ओलीले भन्नुभयो,‘अहिले बढो फुर्ति गरिराख्या छन् फेरि, ललिता निवास प्रकरणको छानविन गरौं। यसमा जो जो दोषी छन् सबैलाई कारबाही गरौं। को को दोषी छन् ? कहिलेबाट यो प्रकरण सुरु भयो ? कहिलेबाट जफत गरिएको जमिन कांग्रेसलाई दिन सुरु गरियो ? क–कसले छानविन गरे ? के के भयो ? समग्र कुरा सरकारले बाहिर ल्याउनुपर्छ।’