काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार(आज)दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।
आजको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको अडानका कारण प्रतिनिधिसभाको बैठक अगाडि जान नसक्ने भएपछि सभामुखकै आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।
सभामुखमा प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुखले भन्नुभएको छ, ‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला ।’
संसद् अवरुद्ध हुँदा मिटरब्याज सम्बन्धी विधेयक पास हुन नसक्नु राम्रो नभएको उल्लेख गर्दै उहाँले दलहरूको ध्यानाकर्षण गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सिसम्ममा सहमति गर्नुहोला ।’