काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेलाबखत आफ्नै बोली र कार्यशैलीले विवादमा आइरहने पात्र हुन्। सशस्त्रद्वन्द्वबाट शान्ती प्रक्रियामा आएपश्चात पहिलोपटक प्रधानमन्त्री बन्दादेखि हालसम्म आउँदा प्रचण्ड विवादित र आलोचित हुँदै आउनुभएको छ। भावनामा बग्ने स्वभाव भएका प्रचण्डका लागि अहिले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले भारतसँग धेरै गुहारेको भन्ने बोली गलपासो भएको छ।
सचिवालय हुँदै पार्टीले स्पष्टिकरण दिएपनि प्रतिपक्षी दलहरुले यो भनाई लज्जास्पद भएको बताउँदै आएका छन्। एमाले राप्रपा लगायतका दलहरुले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले दिएको अभिव्यक्ति जनता र राज्यको हित विपरित रहेको बताउनुभयो ।
एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको अभिव्यक्ति क्षम्य विषय नरहेको बताउँदै संसदको मर्यादामाथिको आक्रामण भएको बताउनुभयो । उहाँको निजी विषय नभई प्रधानमन्त्रीको गरिमामाथिकै प्रहार भएको उहाँको दाबी छ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हिमाल शर्माले प्रधानमन्त्रीले आफूले बोलेको विषय सच्याउनुपर्ने बताउनुभयो। पछिल्लो समय प्रधानमन्त्रीमाथि पनि प्रहार भइरहेको बताउँदै उहाँले यो व्यवस्थाले कसैलाई फाइदा नभएको तर्फ ईंगित गर्नुभयो। कांग्रेस सांसद दीपक खड्काले प्रधानमन्त्रीले आफ्नो भनाईलाई संसदमा प्रष्ट पार्नुपर्ने बताउनुभयो। भारतले नेपालको प्रधानमन्त्री बनाउँछ भन्ने भाष्य निर्माण नगर्न उहाँको अनुरोध छ।
यसैबीच, आज बसेको सत्तारुढ सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामाथि कसैलाई आपत्ति भयो भने संसदमा आवाज उठाउने छुट रहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डलाई सत्ता पक्षले जोगाउन खोजेपनि एमालेलगायतका प्रतिपक्षी दल आक्रोशित बन्दै गएका छन्। भारतले प्रधानमन्त्री बनाउने विषय सिंगो मुलुकको गरिमामाथिको ठाडो प्रहार रहेको एमालेको निष्कर्ष छ। यदी भारतले नै प्रधानमन्त्री बनाउने भए संसदमा आसिन सांसदहरुको मतको अवमूल्यन भएको एमालेको ठहर छ। भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रष्टिकरण दिने बताइएको छ।