Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कोशीमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त

कोशीमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त

  • बिहिवार, आषाढ २१ २०८०

  • 1.1K
    SHARES

  • कोशीमा कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त
    काठमाडौं । कोशीमा प्रदेश प्रमुख परशुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुख खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
     
    ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्नुभएको थियो ।
     
    नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रिमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताउनुभयो ।
     
    एमाले र राप्रपाका सांसदहरूले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने बताउँछन् । एमालेका प्रदेश सांसद तथा अधिवक्ता लिलाबल्लभ अधिकारीले सरकार गठनका दाबी पेस गर्न सभामुख गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर सभामुखको तटस्थता भंग भएको दाबी गर्नुभयो। ‘कुनै एउटा राजनीतिक दलको सदस्य भएका व्यक्तिले कसरी तटस्थ भएर प्रदेशसभाको बैठक सञ्चालन गर्न सक्छ ?,’ उहाँले भन्नुभयो, ‘सरकार गठनका लागि दाबी पेस गर्न सभामुख ज्यूलाई गन्ती गरिएको विषय अब सर्वोच्च अदालतबाटै टुंगिने स्थिति निर्माण भयो ।’
     
    सभामुख प्रदेशसभामा दल त्याग गरेर तटस्थ हुँदा पनि निर्वाचन आयोगको तथ्यांक अनुसार यस प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसदको संख्या १३ रहेकोलाई संवैधानिक र कानुनी रुपमा अस्वीकार गर्ने अवस्था नरहेको गठबन्धन दलका सांसदहरूको भनाइ छ ।
     
    एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङ्ले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार(आज) साँझ ५ बजेसम्मका लागि समय दिनुभएको थियो।


    बिहिवार, आषाढ २१ २०८००५:३५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij