काठमाडौं । राहत शिक्षकहरूले मा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले ऐनमा आफूहरूले उठान गरेका माग सम्बोधन नगरेको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । समितिले देशैभर सर्कुलर गर्दै आन्दोलनका लागि तयारीमा अवस्थामा रहन भनेको हो ।
अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले जारी गरेको सर्कुलरमा मन्त्रिपरिषद्मार्फत संसद्मा पेश हुन लागेको ऐनमा आफूहरूका माग सम्बोधन हुने सम्भावना न्यून रहेको भन्दै आन्दोलनको लागि तयार रहन भनेको हो । देशभरका ४० हजार भन्दा बढीको संख्यामा रहेका राहत शिक्षकहरूले पेशागत स्थायित्वको माग राख्दै आएका छन् । विगतमा पटक–पटक आन्दोलन गर्दै आएको स्मरण गराउँदै अब पनि माग पुरा नभएको खण्डमा अन्तिम चरणको आन्दोलनको लागि तयार रहन भनेका हुन् ।
पाइपलाईनमा रहेको शिक्षा ऐनको मस्यौदा अर्थ मन्त्रालय र कानुन मन्त्रालयले सहमति दिएर हाल मन्त्रिपरिषद्मा पेश हुने तयारीमा छ । शिक्षा ऐनको मस्यौदामा आफूहरूले उठाएका मागहरूका विषय, विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत शिक्षा मन्त्रालय एकलौटी ढंगले पञ्चायती शैलीमा सम्बन्धित सरोकारवाल निकायहरूसँग छलफल नगरी अगाडी बढ्ने संकेत देखिएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।
अहिलेकै परिवेशमा संघीय शिक्षा ऐन जारी भए हजारौंको संख्यामा राहत शिक्षक पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आउने सक्ने गम्भीर उनीहरूको भनाई छ । शिक्षा मन्त्रालय र अभिभावकीय संस्था नेपाल शिक्षक महासंघलाई तीन दिनभित्र ठोस निकास दिन अल्टिमेटम दिएका छन् । त्यो बेला ठोस निकास नदिएको खण्डमा सशक्त रुपमा मैदानमा उत्रिन बाध्य हुने उनीहरूको भनाई छ ।
पेसाबाट विस्थापित हुनुपर्ने बाध्यताको बीचमा राहत शिक्षकको आन्दोलनको राप र ताप विस्फोट गर्नु उनीहरूको भनाई छ । त्यसका केन्द्रीय समितिले संकेत गर्नसाथ काठमाडौं ओर्लन देशभरका सबै राहत शिक्षकहरूमा आह्वान गरिएको हो ।