काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अबरुद्ध पारेका छन्। प्रधानमन्त्री पछिल्लो विवादास्पद अभिव्यक्तिलाई लिएर एमाले सांसदहरूले बैठक सुरू हुनेवित्तिकै अबरोध गरेका हुन्।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो। एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच पु¥याएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘गत असार १८ गते भारतीय नागरिक प्रीतम सिंहको जन्म दिनको अवसरमा उनकी छोरीको पुस्तक विमोचमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर देशव्यापी विरोध भइरहेको छ । हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्ति गर्छ ? प्रीतम सिंह राजनीतिमा चासो राख्नुहुन्थ्यो र मलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ। प्रधानमन्त्रीज्यूले जवाफ नदिँदासम्म बैठक सञ्चालन हुन दिँदैनौं।’
उहाँले भारतको इसारामा चल्ने प्रधानमन्त्री स्वीकार्य नहुने बताउनु भयो। एमालेले अवरोध कायम राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागी बैठक स्थगित गरेको घोषणा गर्नुभको थियो।
प्रधानमन्त्री प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिनु भएको थियो।