काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गामा भएको अनियमितामाथि कसैलाई नछोड्ने बताउनु भएको छ। काठमाडौंमा आयोजित पार्टी निकट विद्यार्थीहरूको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले ललितानिवास जग्गामाथि धेरै ठूलो सञ्जाल रहेको भन्दै कसैलाई पनि नछोड्ने बताउनु भएको हो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘तपाईंहरूले देख्नुभएको छ होला,ललितानिवास जग्गा, हेर्नुहोस् त कति ठूलो षड्यन्त्र,कति ठूलो सञ्जाल,कति ठूलो सेटिङ भएको रहेछ, हेर्दै जानुहोला अझ अगाडि बढिन्छ,छोडिदैंन। यसो गर्दै जाँदा जनता र युवाको साथ भएपछि मलाई कसैले हिलाउन सक्दैनन्।हिजोपनि जनताको साथ लिएर यहाँ आइएको हो।’
यसअघि प्रतिपक्षी दलले वैशाख देख्दैनस् भन्ने गरेको र आज असार समेत कट्न थालिसकेको बताउदै प्रधानमन्त्री प्रचण्डले जनताको मुद्दालाई बोकेर अघि बढेकोले आँफुलाई कसेले रोक्न नसक्ने बताउनुभयो ।