काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चलेपनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताउनुभएको छ।
धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले सत्ता परिवर्तनको चर्चा रहेपनि रास्वपा त्यसको पक्षमा नरहेको बताउनुभयो। पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा वडा स्तरसम्म संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गर्नुभयो।
सरकारले जनपक्षीय काम गर्न नसकेको र सत्ता जोगाउने खेलमा मात्र सीमित रहेको लामिछानेले आरोप लगाउनुभयो।अहिलेको आर्थिक संकटको समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा सरकारले नियमित जस्तै बजेट ल्याएको उहाँको टिप्पणी छ।
सरकराले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई सत्ता र प्रतिपक्ष दुवैले विरोध गरेको बताउँदै उहाँले सरकारले ल्याएको बजेट साना व्यवसायी,लघुुवित्त पीडित, दैनिक जिविका चलाउने नागरीक कसैको पक्षमा नरहेको बताउनुभयो। उहाँले सरकारले कुनै न कुनै कार्यक्रम ल्याएर बजेट सच्याउनुपर्ने बताउनुभयो।