काठमाडौं।शिर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ।आज सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताउनु भएको हो।
उहाँले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो। उहाँले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताउनु भयो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताउनु भयो।
उहाँले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताउनु भयो।मन्त्री गुरुङले बैठकमा कोशी प्रदेशको नेतृत्वको बारेमा पनि छलफल भएको बताउनु भयो।