काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टीको रुपान्तरण अभियान गुटबन्दी नभएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले पार्टीलाई कमजोर बनाउने नभई रुपान्तरणको एजेन्डा उठाएको बताउनुभएको छ ।
कांग्रेसलाई बलियो, सशक्त, प्रभावकारी र जनप्रिय बनाउने अभियान चलाउँदा पार्टी सभापति, वरिष्ठ नेता र महामन्त्रीहरु खुसी हुनुपर्नेमा यसलाई गुटबन्दी भन्नु लोकतान्त्रिक विधि र पद्धति नबुझ्नु रहेको तर्क समेत गर्नुभएको छ ।
यस्तै नेता रसाइलीले कांग्रेस रुपान्तरण अभियान पार्टीलाई २०१५ सालको अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस बिग्रेको वा भत्केको नभएर अझैं कसरी राम्रो बनाउने भन्ने आफूहरुको अभियानको उद्देश्य रहेको नेता रसाईलीको भनाइ छ ।
कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउनु अर्को राजनीतिक दुर्घटना हुने पनि बताउँदै उहाँले एमालेले अबको पाँच वर्ष प्रतिपक्षमै बस्ने मनोविज्ञान बनाउनुपर्ने स्पष्ट पार्नुभयो ।