काठमाडौं। युगपुरुष र दार्शनिकहरूको जन्म र मृत्युको समयलाई विभिन्न तरिकाले स्मरण गर्ने गरेको पाइन्छ। सर्वसाधारण नागरिकको हकमा मृत्युपर्यन्त जन्मदिनलाई खासै स्मरण गरेको पाइँदैन तर मृत्यु भएको तिथिलाई श्राद्ध वा आ–आफ्नै रीतिरिवाज अनुसार स्मरण गरिँदै आइएको छ। यसै सन्दर्भमा आज नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी मनाइएको छ। कोइराला विसं १९८१ असार १८ गते जन्मिनुभएको थियो।
जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम राखेर मनाएका छन्। कांग्रेस पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।
आज कोइरालालाई सम्झिँदै कांग्रेस महामन्त्री गगनकुमार थापाले उहाँ आफ्नो राजनीतिक गुरु भएको बताउनुभयो । उहाँको प्रयासले मुलुक शान्तीपूर्ण दिशामा अग्रसर भएको बताउँदै थापाले त्यसबेलाका बाँकी कामहरु पुरा गर्नुपर्ने अभिभारा आफूहरुको काँधमा रहेको बताउनुभयो ।
गिरिजाप्रसाद कोइराला पनि त्यस्तो व्यक्तित्व हुन् जसले आफ्नो जीवनकालभरि कालो झण्डा र विरोधको सामना गर्नु परिरह्यो तर मृत्युपर्यन्त उहाँले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर शायदै अरु व्यक्तिलाई प्राप्त भयो होला । माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेकै कारण कोइराला एशियाकै एक कुशल राजनेताको रूपमा स्थापित हुनुभयो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उहाँलाई अभिभावकका रुपमा लिनुहुन्छ । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन नपाएकोमा प्रचण्ड अहिलेपनि पश्चाताप गरिररहनुभएको छ ।
सहमति, सहकार्य र एकताका हिमायती, निडर, निर्भीक तथा साहसिक पुरुष गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै कांग्रेस नेता नारायण खड्काले कांग्रेस एमालेको सहकार्य पनि विभिन्न कालखण्डमा भएको बताउनुभयो । अहिले भने यहीँ सरकारले मुलुकलाई समृद्धितर्फ डो¥याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अहिले मुलुकमा विधि, विधान, सेवा, सद्भाव, मूल्यांकन र नैतिकता लोप हुँदै गएको बेला गिरिजाप्रसाद कोइरालाजस्ता राजनीतिज्ञलाई जनताले स्मरण गर्ने गर्दछन् । मुलुकमा शान्ति स्थापना गर्दै प्रजातन्त्रको जग बलियो बनाउन उहाँको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहासमा दर्ज भइसकेको छ । स्वर्गीय कोइरालाको जन्म शताब्दीको अवसरमा उहाप्रति भावपूर्ण श्रद्धाञ्जली ।।