काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आइतबार प्रदेशसभाको बैठक बसेको थियो ।
अर्थमन्त्री धनबहादुर मास्केले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नसाथ विपक्षी सांसदले राज्यकोषको दुरुपयोग गर्ने गरी बजेट आएकोले संशोधन हुनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।
एमाले प्रमुख सचेतक तुलसी चौधरीले राज्यकोषको चरम दुरुपयोग गरी ल्याइएको बजेट संशोधन नभएसम्म सदन चल्न नदिने बताउनुभयो । ‘अहिलेको बजेटले प्रदेशको हित गर्दैन र यसले बेथिति मात्रै निम्त्याउने निश्चित छ’ चौधरीले भन्नुभयो ।
असार १ गते अर्थमन्त्री मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता बितिसक्दा पनि छलफल सुरु भएको छैन ।
असार १० गते बजेटमाथि छलफल गर्ने गरी आह्वान भएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो । प्रतिपक्षले बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।