काठमाडौं । जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ । जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बिहान भेटेर जनमत पार्टीका अध्यक्ष सीके राउतले तीन शर्त राख्नुभएको थियो । बजेट, मधेस प्रदेशमा बिना विभागीय बनाइएका आफ्ना दुई मन्त्री र संघमा मन्त्रीका विषयमा अध्यक्ष राउतले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो ।
जनमत पार्टीका नेता अब्दुल खानका अनुसार प्रधानमन्त्री सकरात्मक देखिएकाले सरकारमा जाने सम्भावना बढेको छ । आज आइतबार ४ बजे बस्ने सत्ता पक्षीय दलको बैठकले जनमतलाई सरकारमा ल्याउनेबारे निर्णय लिन सक्ने छ ।
प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट मन्त्री भएका मध्येबाट एकलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा भित्र्याउने तयारीमा रहेका छन् ।