काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । आजको दिन मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिएको छ ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको किंवदन्ती छ । अल्लाहको आदेश इब्राहिमलाई नजिकको प्यारो चीज कुर्वान दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिएको इतिहास छ ।
यस पर्वका अवसरमा मक्का मदिना जान शुभ मानिन्छ । नेपालबाट हजयात्रीहरु यसवर्ष पनि साउदीको मक्का मदिना गएका छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । मुस्लिम धर्मका अभियन्ता अब्दुल हलिमका अनुसार यो पर्वको महत्व आदिमकाल देखि नै रहीआएको छ । मानव सभ्यताको विकाससँगै यो धर्म जोडिएको उहाँको दाबी छ ।
मुस्लिम धर्मावलम्बीहरुले आज मीठो मसिनो परिकार खाएर यो पर्व मनाएका छन् । उनीहरुमा उत्साह, भाइचारा र आत्मियताको प्रगाढता झुमेको छ । धर्म सबै मानव कल्याणको पक्षमा हुन्छन् । हरेक धर्मलाई अपनत्व गर्न सक्नु मानवीय गुण हो । पछिल्लो समय धर्मका नाममा गरिने घृणित राजनीतिका कारण समाजलाई विभाजनतर्फ उन्मुख गरेको पाइन्छ । हरेक धर्मको महत्व र अस्तित्वलाई स्वीकार्दै सभ्य समाजको आधार निर्माण आजको आवश्यकता हो ।