काठमाडौं । जिल्लास्थित निर्वाचन कार्यालयहरूको खारेजी गर्ने निर्णयबाट सरकार पछि हटे पनि सो विषय विनियोजन विधेयकमा उल्लेख रहेको भन्दै विपक्षी दलहरूले संसद्मा विरोध गरेका छन्। जसका कारण संसद् बैठक स्थगित हुन पुगेको छ।
प्रतिनिधि सभाको बुधबार(आज)को बैठकमा आर्थिक वर्ष ०८०÷८१ को बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ। सोही विषयलाई लिएर संशोधन गर्नेहरूको प्रस्तावमाथि पक्ष विपक्षमा मतदान हुँदै गर्दा एमाले, रास्वपाले आयोगका कार्यालयहरू खारेज गर्ने बुँदालाई संशोधन गरेर नहटाइएकोले सन्देह राख्दै हटाउनुपर्ने माग गरेपछि बैठक नै स्थगित हुन पुगेको हो।
उक्त विषय प्राविधिक भएकोले त्यसलाई सम्बोधन गरेर १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित भएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले निर्वाचनका कार्यालयहरू खारेजी नहुने, अहिले जस्तो अवस्थामा छ त्यस्तै हुने घोषणा गरिसके पनि विधेयकमा उक्त बुँदा कायमै रहेकोले विपक्षी दलले विरोध गरेका हुन्।