काठमाडौं। सत्ता गठबन्धनमा आन्तरिक खटपट शुरु भएसँगै प्रतिपक्षी दल नेकपा एमालेले सरकार निर्माणका लागि दाउ कुरिरहेको विषय बाहिरिन थालेका छन्। गठबन्धन सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका सांसदहरुले नयाँ तालमेलको प्रयास थालेको बुझिएको छ। यद्यपि एमाले र कांग्रेसले यसबारे औपचारिक रुपमा धारणा प्रस्तुत गरिसकेका छैनन्।
पछिल्लो समय माओवादीको नेतृत्वमा बनेको समाजवादी मोर्चाका कारण कांग्रेस पनि झस्किएको छ। पद र स्वार्थका निम्ति मोर्चा तयार पारिएको कांग्रेसको आंकलन छ। हाल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमाथि दबाब समेत बढाउन थालेका छन्। आफू अनुकूल काम गर्न सहज होस् भन्ने उद्देश्यले दुवै दलले सरकारलाई दबाबमा राख्ने योजना बनाएका हुन्। एकीकृत समाजवादीले आगामी आर्थिक वर्षको बजेटका विषयमा असन्तुष्टि राख्दै आएको छ।
सत्तारुढ दलभित्रबाट बजेटका सम्बन्धमा आएको असन्तुष्टिले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई थप सहज भएको छ। विपक्षी कित्तामा रहेको एमालेले स्वाभाविक रूपमा बजेटको विरोध गर्दै आएको समयमा सत्ता पक्षबाटै बजेटको विरोध भएपछि एमालेका लागि धरातल सहज भएको हो । एमालेका सचिव शेरबहादुर तामाङले सरकारमा दल सहभागी होकी मोर्चा भन्ने विषय अन्योल रहेको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवामाथि नै प्रधानमन्त्री प्रचण्ड सशंकीत रहेको दाबी गर्नुभयो ।
कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच पछिल्लो समय संवादको क्रम बढ्न थालेको छ। कांग्रेसकै नेताहरुले गठबन्धन फेरिने संकेत गर्न थालेपछि माओवादी नेताहरू सशंकित भएका छन्। यता, माओवादी केन्द्रका नेता मुक्ति प्रधानले हिजोको कम्युनिष्ट मिलन सफल नभएको उदाहरण दिँदै अहिले नयाँ तालमेलको बारेमा सोच्न नसकिने बताउनुभयो।
कांग्रेस नेता रमेशजंग रायमाझीले व्यक्तिले बोलेका विषय आधिकारिक नहुने बताउँदै पार्टीगत निर्णय यसै गठबन्धनलाई निरन्तरता दिने रहेको बताउनुभयो। अहिले गठबन्धन फेरबदल गर्न आवश्यक नरहेको उहाँको भनाइ छ।
एमालेका नेतासँग कांग्रेस नेताहरुको छलफल बढ्न थाल्नु प्रधानमन्त्री प्रचण्डका लागि दबाब र आशंका बढाउने मुख्य अस्त्र बनेको छ। दुवै पार्टीका नेताहरूले गुपचुप रूपमा भेटघाट जारी राखेका छन्। तर, यो गठबन्धन भत्काएर तत्काल कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था नरहेको माओवादी नेताको दाबी छ।