काठमाडौं । पशुपतिनाथको मन्दिरमा जलहरी निर्माणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ।
पशुपतिको मूल शिवलिङ्गमा सुनको जलहरी जडान गर्दा आर्थिक अनियमितता भएको विषय उठेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको हो। अख्तियार स्रोतका अनुसार छानबिनका लागि छुट्टै टोली गठन गरिएको छ।
अख्तियारको टोलीले आइतबार(आज) जलहरीको जाँच गर्ने समेत अख्तियार स्रोतले जानकारी दिएको छ। ‘जलहरीको जाँच गर्न हाम्रो टोली पशुपति गएको छ,’ अख्तियार स्रोतले भन्यो।
अख्तियार स्रोतका अनुसार अहिले मूल शिवलिङ्ग क्षेत्र हेरेर सामान्य जानकारी दिइएको छ। विस्तृत जाँच भने आइतबार रातिबाट सुरु हुनेछ। ‘हामीले मूल शिवलिङ्ग र जलहरी हेरेर सामान्य जानकारी लिएका छौं। सोसँग सम्बन्धित कागजातहरू पनि अध्ययन भइरहेका छन्,’ स्रोतले भन्यो, ‘विस्तृत जाँच आज रातिबाट सुरु हुन्छ।’
केही हप्ता अगाडि प्रतिनिधि सभा बैठकमा नै पशुपतिमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको विषय सार्वजनिक भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी राखेको भनेर काण्ड सार्वजनिक भएको भन्दै माओवादी केन्द्रका सांसदले अभिव्यक्ति दिएपछि एमालेले विरोध नै जनाएको थियो।
यही विषयलाई लिएर एमाले जेठ १२ गते (शुक्रबार)को बैठकमा विरोध जनाउँदै बैठक नै अवरुद्ध पारेको थियो। पछि उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै स्पष्टीकरण दिनुपरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेपछि मन्दिरमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गर्नुभएको थियो। त्यसपछि जलहरी निर्माण प्रक्रिया अघि बढेको थियो। २०७७ साल फागुन १२ गते राष्ट्रपति विद्यादेवि भण्डारीले जलहरीको साइत गर्नुभएको थियो।
महालेखा परीक्षकको कार्यालयले आफ्नो ५९औं प्रतिवेदनमा जलहरी बनाउने क्रममा केही सुन हिनामिना भएको विषय उठाएको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि उक्त वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजार रुपैयाँमा खरिद गरेको थियो। विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२ किलो ७५० ग्रामसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको भनिएको थियो। यो सुनमध्ये ९६ किलो ८२२ ग्राम जलहरी लगाउन खर्च गरिएको थियो भने बाँकी १० किलो ९७६ ग्राम रिङ बनाउन खर्च गरिएको बताइएको थियो।
महालेखाले बाँकी रहेको सबै १० किलो ९७६ ग्राम नै रिङ बनाउनमा खर्च भएको पुष्टि हुने विवरण पेस नभएको बताएको थियो। रिङ बनाउन खर्च भएको सुनमध्ये केही अपचलन भएको हुनसक्ने आशंका महालेखाले गरेको हो।