काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले हिन्दी चलचित्र चलाउन रोक लगाएपछी सरकारले जवाफ दिएको छ। मेयर शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतको छोरी भनिएको भन्दै उक्त संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न नदिने अडान लिएपछी संघ सरकारले प्रतिक्रिया जनाएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर अभिव्यक्ति दिनुपर्ने भन्दै ‘आदिपुरुष’का विषयमा सेन्सर बोर्डले काम गरिसकेको भन्दै अरूले ‘स्टन्ट’ गर्न नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ। भावनात्मक रूपले सबै हामी एकै ठाउँ छौँ । सीता नेपालको छोरी हुन् भन्ने कुरामा हामी कसैको दुई मत छैन। त्यो हटाइसकेको छ। अरू कुरामा सबैले आ–आफ्नो क्षेत्राधिकार बझ्नुपर्छ, स्टन्ट र भावना मनोविज्ञानमा खेल्नेभन्दा पनि दीर्घकालीन समाधानको सोचमा जानुपर्छ। यसका लागि परराष्ट्र मन्त्रालबाट हाम्रो कुरा अघि बढाइसकेका छौँ।”
परराष्ट्र मन्त्रालयले नै अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्ध कायम गर्ने र छलफल गर्ने निकाय भएकाले त्यसबाटै अघि बढ्नुपर्ने मन्त्री शर्माको उल्लेख छ। सेन्सर बोर्डले विवादास्पद संवाद हटाएर मात्र नेपालमा प्रदर्शनको अधिकार दिएको कुरा सबैले बुझ्नुपर्ने उहाँको भनाई छ।
“चलचित्रको मूल भावबाटै हटाउनुपर्छ, भारतमा पनि चल्न दिनु हुँदैन भन्ने कुराचाहिँ कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न यो हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो । हामीले यस विषयमा परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेका छौँ,” मन्त्री शर्माले भन्नुभयो।