काठमाडौं । शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिनुभएको छ ।
पछिल्लो समय काठमाडौंमा भइरहेको शिक्षासम्बन्धी सुधारका कार्यक्रमहरूमा अर्यालको नै मुख्य भूमिका थियो । तर अहिले शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेसम्मका गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको अर्यालले बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेपछि अर्यालले मेयर शाहमा लोकतान्त्रिक अभ्यासको परिपालना अत्यन्तै कमजोर रहेको बताउनुभयो ।
सानो अर्थतन्त्र र व्यवसाय गर्ने व्यक्तिहरूलाई जबर्जस्ती नगर प्रहरी लगाएर धरपकड गरेको विषय पनि आफूले पटक–पटक उठाउँदा सुनुवाइ नभएको अर्यालले बताउनुभयो । शिक्षामा नैतिकताको कुरा आउने भएकाले ठेला हटाउँदा तीनको व्यवस्थापन र लात्ती हानेको भिडियोले नैतिक प्रश्न उठाएको उहाँले बताउनुभयो ।