काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशन सोमबार(आज)देखि सुरू हुँदैछ । ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आइतबार पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, ७ वटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय संघको अधिवेशन सम्पन्न गरी सातौं महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध संघमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गर्नुभयो।
ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताउनुभयो । ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासंघको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिनुभयो ।
ट्रेड युनियन कांग्रेस सातौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि ७५३ वटै स्थानीय तहमा ट्रेड युनियन संगठन निर्माण गर्ने जानकारी दिनुभयो ।