काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनु भएको छ।
आज सातै प्रदेशमा एमालेबाट निर्वाचित भएका प्रदेश सांसदहरूसँग भर्चुअल बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट छलफलमा भाग लिँदा विरोधका नाममा विरोध नभइ देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्नेगरी आवाज उठाउन निर्देशित गर्नुभएको हो ।
उहाँले भन्नुभयो,‘देशको बजेट सरकार सञ्चालन,भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ।तर त्यसरी नबनाइ सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएको छ। बजेटका गलत कुराहरूलाई सच्याउन बाध्य पार्नेगरी विरोधमा उत्रिनुहोस्। ’
अध्यक्ष ओलीले बजेट विनियोजन पैतृक सम्पत्तीजस्तो गरी मुख्यमन्त्री र अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर दुरूपयोग गरेको आरोप लगाउनु भयो।उहाँले कुनैपनि हालतमा यथास्थितमा बजेट पास गर्न नहुने बताउनु भयो।उहाँले कोशी प्रदेश नामाकरण र त्यसपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पनि पार्टीको धारणा राखेका थिए।
प्रदेश सभाको दुई तिहाइले विधिवत् ढंगले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै अध्यक्ष ओलीले कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरुपमा समेट्ने दावी गर्नुभयो। कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा एमाले नेतृत्वको सरकार कायम रहनेमा जोड दिनुभयो।