काठमाडौं।सामुदायिक विद्यालय बन्द गर्नेहरूलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिनुभएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलि आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।
परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो।सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने भनेर आएको समाचारप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको शाहले बताउनु भएको छ।
काठमाडौँ महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने कुनै संस्था वा कर्मचारीहरूलाई कारबाही गरिने स्पष्ट पार्नुभएको हो ।
उहाँले काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन पनि दिनुभएको छ ।