काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको जवाफी बहस सकिएको छ। झण्डै दुई साताअघि जेठ २१ गते आइतवारबाट शुरू भएको बहस आज सकिएको हो ।
आज सरकारी वकिलतर्फ अच्युतमणि नेउपाने, लक्ष्मण घिमिरे, महेश खत्री, निर्मला मरासिनी र दिनेश भट्टराई तथा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता स्वागत नेपालले बहस गर्नु भएको थियो ।
बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले प्रमाण लोप गर्न सक्ने भएकाले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्नुभयो ।
’प्रतिवादीहरूलाई धरौटीमा छाड्ने हो भने मुद्दाको प्रमाण लोप हुने अवस्था छ । टोपबहादुर रायमाझीले पक्राउ पर्नुअघि नै मोबाइल खोलामा फाले। अन्य प्रतिवादी पनि हिरासतमै छँदा समेत प्रमाण लोप गर्न धेरै काम भएका छन् । फेरि यी प्रतिवादीलाई धरौटीमा छाडे पीडितलाई अन्याय हुनेछ,’ नेउपानेले भन्नुभयो।
जाहेरवालाको तर्फबाट जवाफी बहस गरेका अधिवक्ता स्वागत नेपालले पीडितहरूलाई ज्यानकै खतरा रहेकाले प्रतिवादीहरूलाई धरौटी वा साधारण तारेखमा रिहा गर्न नहुने जिकिर पेश गर्नुभयो। अहिले पनि डरका कारण कतिपय पीडितले जाहेरी दिन समेत नसकेको उहाँको भनाइ थियो ।
शुरूमा सरकारी वकिल, त्यसपछि जाहेरवाला र प्रतिवादी पक्षका वकिलको बहस सकिएपछि शुक्रवार जवाफी बहस भएको हो। जवाफी बहस पनि सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपाने थुनछेक आदेशको तयारीमा जुट्नु भएको छ।
सकभर आजै आदेश आउने सम्भावना रहेको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ ।