काठमाडौं। कोशी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याएको छ। सत्ता साझेदार दलले सरकार छाडेपछि सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट सम्बन्धी दुई विधेयक ल्याएको छ। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० जारी गर्नु भएको छ ।
अल्पमतमा परेको सरकारले अध्यादेश मार्फत बजेट ल्याउँदा गैरकानूनी हुने बताउँदै प्रतिपक्षी दलहरूले विरोध गरेका छन्। यसअघि प्रदेश प्रमुखको कार्यालयले जेठ ३१ मा विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि चालू दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको जनाएको थियो।
प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुख खापुङले प्रदेश सभामा प्रस्तुत गर्नु भएको थियो। प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने टिप्पणी गरेका छन्।
एमाले नेतृत्वको सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि निर्धारित समयभन्दा पछि नीति तथा कार्यक्रम ल्याइएको थियो। असार १ अगावै बजेट ल्याउनुपर्ने कानूनी बाध्यता भएकाले जेठ ३२ मै बजेट सार्वजनिक गर्न लागिएको हो ।