काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंललबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भयो। सबै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ।’
बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको उहाँको भनाइ छ।
त्यसो त नेकपा एसले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको छ । अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गर्नुभएको थियो ।