काठमाडौं। जेठ १५ गते संसदमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सांसदहरुले राखेका धारणाहरुको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ फर्काउनुभएको छ। २२ गतेदेखि छलफलमा आएको बजेटमाथि सांसदहरुले आआफ्ना धारणा राखेका थिए। अधिकांशले बजेट परम्परा धान्न आएको औल्याएका थिए।
आजैपनि अर्थमन्त्री डा. महतले जवाफ दिने क्रममा कैँयौ सांसदहरुले बजेटको आलोचना गरेका छन्। यति लामो छलफलले पनि बजेटमा परिमार्जन नगरिएको उनीहरुको गुनासो छ ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल, एमाले सांसद महेश बर्तौला, भगवती चौधरीले अर्थमन्त्रीले आफ्नो मनोमानी रुपमा बजेटका विषयवस्तु तयार पारेको आरोप लगाउनुभएको छ।
सांसदहरुको जवाफ फर्काउँदै अर्थमन्त्री डा. महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरुको क्षेत्रमा मात्रै बजेट गएको विषय गलत भएको बताउनुभयो। आरोपका लागि मात्रै आरोप लागेको भन्दै उहाँले खण्डन गर्नुभयो ।
कांग्रेस सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री र मन्त्रीहरुले प्रतिवद्धता बिर्सिएको बताउँदा अर्का सांसद जनार्दन शर्माले चुरोट सुर्तीमा जम्मा ३ प्रतिशत कर र कृषिमा १० प्रतिशत कर किन भन्दै प्रश्न गर्नुभयो ।
सांसद प्रभु साहले आमजनता बाट लिने कर मन्त्रीहरुका क्षेत्रमा मात्रै सिमित भएको आरोप लगाउनुभयो । सांसद रघुजी पन्त, राजेन्द्र पाण्डे र शिशिर खनालले दैनिक उपभोग्य वस्तुहरुमा अचाक्ली महंगी बढेको भन्दै पहिलेकै दरका कहिले पाइन्छ भनी प्रश्न गर्नुभयो ।
रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले बजेटमा अनुमान गरिएको लक्ष्य समयमा पूरा हुनेमा शंका रहेको बताउनुभयो। उहाँले अर्थमन्त्रीसँग पुष्टि गर्ने आधार प्रस्तुत गर्न पनि चुनौति दिनुभयो ।
अर्थमन्त्री डा. महतले बजेटमा गाँजाको विषयलाई उठाएको भन्दै आलोचना भएपनि विकसित राष्ट्रहरुले यसबाट मनग्य आम्दानी गरिरहेको बताउँदै नेपालले पनि लगानी गर्नुपर्ने दोहोयाउनुभयो।
बजेटमा पर्याप्त छलफल भएतापनि कार्यान्वयनको पाटो निकै जटिल बन्दै गएको छ। मुलुकको आर्थिक अवस्था र आम्दानीमा तारतम्य नमिल्दा थप सकस बनेको हो ।