काठमाडौं।नेपालीहरूको सनातन धर्मअनुसार तीनवटा देवता ब्रह्मा, विष्णु र महेश्वरको विशेष महत्व छ। महेश्वर भनेका शिव र उनले मन पराउने वस्तु गाँजा हो भने उनको क्रीडास्थल हिमालय पर्वत हो । अतः गाँजाको उद्गमस्थल सेन्ट्रल एसिया र विशेषतः हिमालयको वरपर भएको मानिन्छ ।
गाँजा भगवान् शिवले सेवन गर्ने भएकाले वैदिक सनातन संस्कृतिमा यसको विशेष महत्व छ र यसले सनातन धर्मावलम्बी जनमानसमा जरो गाडेको छ । महाशिवरात्रिमा विश्वभरका साधुजोगीहरू पशुपतिनाथको दर्शन तथा गाँजा सेवन गर्न नेपाल आउने गर्छन् र नेपालीको घरघरमा भगवान् शिवका नाममा गाँजाबाट निर्मित विशेष प्रकारको भाङ सेवन गर्ने चलन छ ।
सनातन धर्मसँग जोडिएको बुटीलाई व्यवस्थित गर्नुको साँटो मानवनिर्मित संविधानले अवैध मान्दा राज्यको थप विकास र समृृद्धमा असर परिरहेको आवाज उठ्न थालेको छ । अहिले आएर अर्थमन्त्री डा. प्रकाशशरण महतले औधषिजन्य प्रयोगका लागि गाँजाखेतिको सम्भाव्यता अध्ययन गरिनेछ भन्दै बजेट भाषण गर्दा संसदमा ताली र हाँसो गुञ्जिएको थियो जुन महतले समेत थाम्न सकेनन् ।
आज मात्रै माइतिघरमण्डलामा पूर्वमन्त्री, सरकारी अधिकारी र नागरिक अगुवाहरु जम्मा भएर सरकारले गाँजामा लगाइएको प्रतिबन्धलाई फुकुवा गर्नुपर्ने आवाज उठाएका छन् । नेपाल सरकारका पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले २०७६ सालमै संसदमा गाँजा सम्बन्धि विधेयक ल्याएको बताउँदै त्यसलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
अल्लो संघका अध्यक्ष बुद्धि पूर्जामगरले गाँजा खेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने बताउनुभयो । उहाँले गाँजालाई वैधानिक बनाइ ओसारपसार गरेको आरोपमा पक्राउ परेकाहरुलाई समेत छोड्नुपर्ने जिकिर गर्नुभयो । गाँजाबाट विभिन्न औषधि उत्पादान गरेर व्यवसाय गरिरहेका एक व्यापारीका अनुसार गाँजाका लागि नेपाल विश्वको हब बन्नसक्छ ।
नागरिक समाजका अगुवा डिल्लीराम खनालले किसानहरुलाई गाँजा खेतीतर्फ आकर्षित गराउनुपर्ने कुरामा जोड दिनुभयो । अन्न फल्ने खेतमा गाँजाले राम्रो फसल दिने उहाँको दाबी छ ।
नेपालमा गाँजा परापूर्वकालदेखि नै दुई रूपमा प्रयोग हुँदै आएको छ । औषधीय प्रयोगबाहेक गाँजाको पात र फूल समेतको झुप्पा सुकेपछि चिलिममा भरेर धूमपानका रूपमा पिउने चलन थियो भने आधुनिक कपडाको विकास हुनुभन्दा पहिले कपासबाहेक यसका रेसाबाट बनेका कपडा पनि लगाउने गरिन्थ्यो । पछिल्लो समय गाँजा पनि चमत्कारी विशिष्ट गुणले भरिपूर्णं वनस्पति प्रमाणित भइसकेको छ ।