काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी चिन्तनमा चिन्ता मिसिएको पाउन थालिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा नेता शिवाकोटीले गाउँतहमा कांग्रेसजनकै चिन्तनले कांग्रेस बाँचेको उल्लेख गर्दै पछिल्लो समय यो चिन्तनमा चिन्ता मिसिएको पाइन थालेको बताउनुभएको हो ।
उहाँले कांग्रेसले बाटो बिराउँदै गएको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘हामीले बाटो बिराएको कुरा हुन थालेको छ । संसदमा पहिलो पार्टी भएर पनि कांग्रेस किन तेस्रो पार्टीको पाउमा परेको छ ?’
चुनावमा गठबन्धन गर्नु कांग्रेसका लागि स्वभाविक नभएको दाबी गर्दै शिवाकोटीले भन्नुभयो, ‘प्रि–पोल यलायन्स गर्ने निर्णय भए यता चुनाव जिते पनि चयन छैन, मनमा छटपटी छ ।’
यस्तै उहाँले लोकतन्त्रकै लागि लडेका दलका मूल नेताहरु कतै प्रतिगमनर्फ त गएका छैनन् ? भनी प्रश्न उठ्न थालेको बताउनुभयो।
उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै पार्टी विधिविधानअनुसार नचल्नु दुर्भाग्य भएको जनाउनुभयो।
उहाँले भन्नुभयो, ‘हैन भने हाम्रो लोकतान्त्रिक दलमा किन आन्तरिक लोकतन्त्र कमजोर भयो ? किन विधि विधान अनुसार पार्टी संचालन भएन ?’