काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको चुरे पर्वतको खनिज सामग्री नबेच्न अर्थमन्त्रीलाई सचेत गराउनु भएको छ । चुरे चलाए देशमा आगो बल्नेसमेत सांसद पन्तले चेतावनी दिनुभयो ।
आज जारी प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले देशको प्राकृतिक स्रोत साधन निर्यात गरेर देशको खर्च धान्न नसकिने बन्दै चुरे पर्वत नचलाउन चेतावनी दिनु भएको हो ।
यस्तै उहाँले नेपाल श्रीलंका र पाकिस्तान जस्तो बन्ने हो कि भन्ने खतरा रहेको बताउनु भयो। अहिले नेपालको आर्थिक सूचकाङ्कहरू कुनैपनि सकारात्मक नरहेको बताउँदै सांसद पन्तले भन्नुभयो, ‘न निजी क्षेत्र बलियो छ, न सरकारी क्षेत्र बलियो छ, सहकारीलाई त यो बजेटले सम्बोधन नै गरेकै छैन । यो बजेटमा समाजवाद भन्ने शब्द नै उहाँले बिर्सिदिनु भएको छ ।’
उहाँले बजेट देशको सपना देख्ने माध्यम भएको बताउँदै साग बेच्ने पसलेदेखि अर्बपतिसम्मलाई सम्बोधन गर्न सक्षम हुनुपर्ने बताउनु भयो।उहाँले नुवाकोट, गोरखा र डडेल्धुरामा बजेट घोप्टाइएको भन्दै प्रधानमन्त्री, अर्थमन्त्रीको सांसद पन्तले आलोचना गर्नुभयो।